काठमाडौँ । सेती प्रादेशिक अस्पतालमा उपचाररत एक मिर्गौला पीडित बिरामीले अस्पताल भवनको तेस्रो तलाबाट हाम फालेपछि घटनास्थलमै ज्यान गुमाएका छन्।
कैलालीको गोदावरी नगरपालिका–१ का ६३ वर्षीय चक्रबहादुर सिंहले मंगलबार दिउँसो अस्पतालको तेस्रो तलाबाट हाम फालेका हुन्। डायलाइसिस सेवा लिँदै आएका सिंह सोमबार अस्पतालको मेडिकल वार्डमा भर्ना भएका थिए।सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठका अनुसार सिंहले दिउँसो २ बजेपछि अचानक तेस्रो तलाबाट हाम फालेका थिए।
घटनापछि उनलाई तुरुन्तै अस्पतालको आकस्मिक कक्षमा लगिएको थियो, तर चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।सिंहकी श्रीमती ईश्वरीदेवी अस्पतालमै कुरुवा बसेकी थिइन्। श्रेष्ठका अनुसार केही समयका लागि बाहिर जान्छु भनेर निस्केका सिंहले एक्कासी यस्तो कदम चालेको देखिएको छ।सिंह विगत केही समयदेखि मिर्गौला समस्याबाट पीडित थिए र नियमित रूपमा डायलाइसिस सेवा लिँदै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको अस्पतालले जनाएको छ।