काठमाडौँ । सांसद डा. अमरेशकुमार सिंहले नारायणगढ–बुटवल सडक खण्डको निर्माणमा भइरहेको ढिलाइप्रति गम्भीर आपत्ति जनाउँदै सरकारले तत्काल ध्यान दिनुपर्ने माग गरेका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोलेका सिंहले विकास निर्माणमा सरकार उदासीन देखिएको भन्दै चिन्ता व्यक्त गरे। “नारायणगढ–बुटवल सडक समयमा निर्माण नहुँदा लुम्बिनी पुग्ने पर्यटकहरू हैरान छन्।
उनले भने एक विदेशी पर्यटकले सडकको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि अन्तर्राष्ट्रिय रूपमा नै नेपालको बेइज्जत भएको छ।शिक्षा र स्वास्थ्य क्षेत्र कमजोर हुँदै गएको उल्लेख गर्दै सांसद सिंहले भौतिक पूर्वाधार निर्माणमा पनि सरकार गम्भीर नदेखिएको बताए। उनले समयमा ठेक्का सम्पन्न नगर्ने निर्माण कम्पनीहरूको म्याद थप नगर्न आग्रह गर्दै सरकारको कडा निगरानी र जवाफदेही कार्यशैली आवश्यक भएको धारणा राखे।