• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

स्वास्थ्यमन्त्री पौडेल : आँखा स्वास्थ्यलाई प्रमुख एजेन्डा बनाएर अगाडि बढिरहेको छ सरकार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आँखा स्वास्थ्यलाई सरकारले प्रमुख एजेन्डाको रूपमा लिएको बताएका छन्।

बुधबार आयोजित ‘इन साइट लाइभ २०३०’ अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले आँखा स्वास्थ्यलाई राष्ट्रिय स्वास्थ्य प्रणालीमा एकीकृत गर्दै विद्यालय, कार्यस्थल र समुदाय स्तरमा सशक्त साझेदारी निर्माण गर्ने लक्ष्यअनुसार सरकार अगाडि बढिरहेको बताए।

उनका अनुसार, २०२२ को सर्वेक्षणमा ०.८४५ प्रतिशत रहेको अन्धोपनको दर हाल घटेर ०.२८५ प्रतिशतमा झरेको छ। साथै मोतियाबिन्दु शल्यक्रियाको पहुँच (कभरेज) मा पनि उल्लेखनीय सुधार आएको उनको भनाइ छ। नेपालले सन् २०३० सम्ममा यो कभरेज ६५.४५ प्रतिशतमा पुर्‍याउने लक्ष्य लिएको उल्लेख गरे।

मन्त्री पौडेलले सार्वजनिक–निजी साझेदारी र सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रममार्फत आँखा उपचार सेवामा सबैको पहुँच विस्तार गरिँदै आएको जानकारी दिए। साथै, सन् २०२६ मा आँखा स्वास्थ्यसम्बन्धी विश्वव्यापी शिखर सम्मेलनको अभियानमा नेपालले दृढ समर्थन जनाउने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।उनका अनुसार सरकारले सबै नागरिकलाई गुणस्तरीय आँखा हेरचाहको पहुँच सुनिश्चित गर्न प्रतिबद्धतापूर्वक काम गरिरहेको छ।