• २०८३ असार ८
  • 2026 June 22, Monday

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी, शिक्षक आन्दोलन र नीति कार्यक्रममाथि छलफल

काठमाडौं । सत्तारुढ दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको बैठकमा हालको शिक्षक आन्दोलन, सरकारको आगामी नीति तथा कार्यक्रमलगायत विषयमा छलफल भइरहेको छ।

सरकार र आन्दोलनरत शिक्षकहरूबीच नियमित वार्ता भइरहे पनि सहमति जुट्न सकेको छैन। मंगलबार पनि वार्ता भएको थियो, तर निष्कर्षमा पुग्न नसकिएको बैठक स्रोतले जनाएको छ।बैठकमा तत्काल मन्त्रिपरिषद्ले गर्न सक्ने निर्णयहरू र सरकार पूरा गर्नसक्ने शिक्षकहरूको मागबारे आन्तरिक परामर्श भइरहेको छ। साथै, सत्तारुढ दलहरूबीच पछिल्लो समय देखिएको विश्वास अभाव तथा प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति कांग्रेस नेताहरूको असन्तुष्टि पनि छलफलको केन्द्रमा रहेको छ।

बैठक संघीय संसदको दुवै सदनमा वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलमार्फत प्रस्तुत गरिन लागिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे तयारीमा पनि केन्द्रित छ।बैठकमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू प्रदीप ज्ञवाली र विष्णुप्रसाद रिमाल, लोसपा अध्यक्ष महन्थ ठाकुर र जसपा अध्यक्ष अशोक कुमार राईलगायत नेताहरू सहभागी छन्।