काठमाडौं । कैलाली जिल्लाको जानकी गाउँपालिकामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटना बुधबार दिउँसो जानकी गाउँपालिका–३ स्थित डुडेझारी सडकखण्डमा वडा कार्यालयअगाडि भएको हो। दुर्घटनामा से५प २५६० र सुप प्र ०१–०१२प ८०७५ नम्बरका मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा जानकी गाउँपालिका–८ निवासी १९ वर्षीय राकेश परियार गम्भीर घाइते भएका थिए।
उनलाई उपचारका लागि नेपालगन्जस्थित सेवा नर्सिङ होम लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै, अर्का मोटरसाइकल चालक ४५ वर्षीय पुष्कर शाही गम्भीर घाइते भएका छन्। उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। दुर्घटनामा घाइते भएका अन्य दुई १३ वर्षीया प्रिन्सी शाही र १८ वर्षीय कमल रावलको अवस्था भने खतरामुक्त रहेको छ। उनीहरूको टीकापुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।