काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादवले डान्स गर्दाको भिडियोमा प्रयोग गरेको पेस्तोल सर्लाहीको मलंगवामा बरामद भएको छ।
सर्लाही प्रहरीका अनुसार उक्त पेस्तोल मलंगवा नगरपालिका–२ निवासी अन्जनी कुमारको घरबाट फेला परेको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईले बरामद गरिएको पेस्तोल ‘खेलौनाजस्तै’ देखिएको जानकारी दिए। “पेस्तोल अनुसन्धानका लागि ल्याइएको छ, नक्कली हो वा सक्कली भन्ने पुष्टि परीक्षणपछि मात्र हुन्छ,” उनले भने।पेस्तोल भेटिएको घरका घरधनी अन्जनीलाई हाल जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ भइरहेको छ।
प्रारम्भिक बयानअनुसार, उक्त पेस्तोल वसन्त कुमारकी छोरी कोमल सुप्रियाको हल्दी समारोहमा नेतृ डा. यादवले डान्स गर्ने क्रममा प्रयोग गरिएको थियो।यता, सप्तरीमा डा. यादवसँग बयान लिने काम पनि भइरहेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले यादवसँग प्रारम्भिक सोधपुछ गरिसकिएको र अहिले कागजी प्रक्रिया पूरा गरेर उनलाई तत्कालका लागि रिहा गर्ने तयारी भइरहेको जानकारी दिए।एसपी खतिवडाका अनुसार सर्लाहीमा बरामद भएको पेस्तोल परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला, काठमाडौं पठाइनेछ। परीक्षणपछि मात्र पेस्तोल सक्कली वा नक्कली हो भन्नेबारे निष्कर्ष निकालिने बताइएको छ।