• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

नेपाल विद्युत् प्राधिकरणद्वारा श्वेतपत्र सार्वजनिक: आयात अझै केही वर्ष कायम रहने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण (नेवि प्रा) का कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदबहालीको एक महिनाभित्रै श्वेतपत्र सार्वजनिक गरेका छन्। उक्त श्वेतपत्रमा देशभर विद्युत् पहुँच र आपूर्ति मागको अवस्थाबारे तथ्याङ्क प्रस्तुत गरिएको छ।

शाक्यका अनुसार हालसम्म देशका ९७.५ प्रतिशत पालिकामा विद्युत् पहुँच पुगेको छ। वडा तहमा यो दर ९५ प्रतिशत रहेको छ भने घरधुरीको हिसाबले ९१.४ प्रतिशतले विद्युत् सुविधा पाएको प्राधिकरणको दाबी छ।

प्राधिकरणले फागुन मसान्तसम्म देशको आन्तरिक विद्युत् माग २,३३७ मेगावाट रहेको जनाएको छ। चालू आर्थिक वर्षको अन्त्यसम्म यो माग २,४३८ मेगावाट पुग्ने अनुमान गरिएको छ। यद्यपि, माग र आपूर्तिबीच असन्तुलन रहँदै आएको र वर्षायाममा विद्युत् खेर जाने, सुख्खायाममा माग उच्च भएर आपूर्ति गर्न गाह्रो हुने शाक्यले बताएका छन्।

श्वेतपत्रमा उल्लेख भएअनुसार, आर्थिक वर्ष २०८२/८३ मा वर्षायाममा २,६४८ मेगावाट र २०८३/८४ मा ३,३१६ मेगावाट विद्युत् अतिरिक्त हुने देखिएको छ, जुन निर्यात गर्न सकिने अवस्था रहनेछ। तर, उही अवधिमा सुख्खायाममा क्रमशः ७९१ मेगावाट र ७२८ मेगावाट विद्युत् अपुग हुने भएकाले आयात गर्नु पर्ने देखिन्छ।

‘निकट भविष्यमा विद्युत् आयात पूर्णरूपमा शून्यमा झार्न सकिने अवस्था छैन,” शाक्यले स्पष्ट पारे । दीर्घकालीन समाधानका लागि अर्धजलाशय, जलाशय, पम्प स्टोरेजयुक्त आयोजना र ब्याट्री भण्डारण प्रणाली निर्माण गरी ऊर्जा भण्डारण क्षमतामा सुधार ल्याउनुपर्ने उनको धारणा छ ।

उनले हालको १२/१४ प्रतिशत वार्षिक विद्युत् खपत वृद्धिदरलाई बढाएर २० प्रतिशत पुर्‍याउनुपर्ने आवश्यकता औंल्याएका छन्, जसका लागि सबै निकायको समन्वय र प्रयास अपरिहार्य हुने बताइएको छ।