काठमाडौं । नेपाल विद्युत् प्राधिकरण (नेविप्रा) ले दैनिक सञ्चालन र ठेक्का भुक्तानीका लागि १० अर्ब रुपैयाँ बराबरको अल्पकालीन ऋण लिन प्रक्रिया अघि बढाएको छ।
शुक्रबार सार्वजनिक गरिएको श्वेतपत्रमार्फत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सो जानकारी दिएका हुन्।”हामीसँग तत्काल खर्च गर्न सक्ने क्यास ब्यालेन्स छैन,” शाक्यले स्पष्ट गर्दै भने, “१० अर्ब रुपैयाँ ऋणका लागि सरकारले स्वीकृति दिन सक्ने गरी पत्राचार भइसकेको छ र प्रक्रिया अघि बढिसकेको छ।”
उनका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा ठेक्का सम्झौता अन्तर्गत ११ अर्ब ६१ करोड रुपैयाँ बराबरका बिलहरू भुक्तानी हुन बाँकी रहेका छन्। तर, प्राधिकरणसँग त्यसको लागि आवश्यक रकम अभाव रहेको छ।
हालसम्म प्राधिकरणको केन्द्रीय कोषमा जम्मा मौज्दात करिब १० अर्ब १० करोड रुपैयाँ रहेको छ, जसमा:
-
३ अर्ब ६८ करोड रुपैयाँ डलर मुद्दती खातामा,
-
३ अर्ब ९५ करोड रुपैयाँ धरौटी खातामा,
-
र २ अर्ब ४७ करोड रुपैयाँ कल/चालू खातामा रहेको छ।
यी सबै रकम न्यूनतम दैनिक सञ्चालनका लागि आवश्यक जगेडा मात्र भएको प्राधिकरणको भनाइ छ। त्यसैले बाँकी भुक्तानी व्यवस्थापन गर्न १० अर्ब रुपैयाँसम्मको ऋण आवश्यक भएको उल्लेख गरिएको छ।