
काठमाडौं। सहकारी संस्थामा बचत अपचलन गरेको आरोपमा बिर्तामोडस्थित पातालग्गा बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष रेवती खनाल पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले खनाललाई धनगढीबाट पक्राउ गरेर झापा ल्याइएको जानकारी दिएका छन्। खनाललाई आजै जिल्ला अदालत झापामा उपस्थित गराइने उनका अनुसार खनालले बिसं. २०७८ भदौ २३ गते आफू, पत्नी, भाइ, बहिनी र मामाससुराका नाममा दुई करोड छ लाख आठ हजार ३८३ रुपैयाँको ऋण निकालेर फरार भएका थिए।
यसअघि, बिसं. २०७८ कात्तिक १६ गते सहकारी संस्थाका उपाध्यक्ष टकप्रसाद भेटवालले खनालविरुद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दिएका थिए। पातालग्गा सहकारीमा एक हजार ५०० भन्दा बढी सदस्य रहेका छन्। खनाल फरार भएपछि नयाँ अध्यक्ष युवराज गिरीले निजी घरजग्गा बैंकमा धितो राखेर बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरेका छन्।
झापा जिल्ला अदालतबाट बि.सं. २०७९ मङ्सिर १४ गते उक्त मुद्धामा पाँच जना आरोपीलाई हाजिर हुन म्याद जारी गरिएको थियो। खनालकी बहिनी गोमा खनाल भण्डारी र मामाससुरा अनन्त जीवन लुइँटेल पक्राउ परेका छन्। अदालतको आदेश अनुसार रु. एक लाख ५० हजार धरौटीमा गोमा खनाल भण्डारी र रु. ७५ हजार धरौटीमा अनन्त जीवन लुइँटेल तारेखमा छुटेका छन्। अहिले खनालकी पत्नी कमलादेवी भट्टराई र भाइ सीताराम खनालको खोजी भइरहेको प्रहरीले जनाएको छ।
सहकारीको बचत अपचलनका अभियोगमा अन्य सहकारी सञ्चालक र कर्मचारीविरुद्ध पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। बिर्तामोडस्थित “हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको” शिवगञ्जस्थित सेवा केन्द्रका प्रमुख जीवन भुजेललाई रु. तीन करोड ३५ लाख ४०० हिनामिना गरेको अभियोगमा गत चैतमा प्रहरीले पक्राउ गरेको थियो। भुजेलविरुद्ध सहकारीले नै प्रहरीमा जाहेरी दिएको थियो।
त्यस्तै, शिवसताक्षी नगरपालिका–३ स्थित उन्नति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुमन खनाल र व्यवस्थापक मित्रलाल भट्टराई पनि सहकारी बचत अपचलनको अभियोगमा गत कात्तिकमा पक्राउ परेका थिए। उनीहरूले मिलेमतोमा सहकारीमा सर्वसाधारणको एक करोड ३९ लाख ७७० हिनामिना गरेको आरोप लागेको छ। यो मुद्धा हाल झापा जिल्ला अदालतमा विचाराधीन छ।