छात्रालाई दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

काठमाडौँ । चितवनको नारायणी नमूना माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापकले आफ्नै विद्यार्थीलाई यौनजन्य हैरानी दिएको दिएको खुलेको छ ।

विद्यालयका सहायक प्रधानाध्यापक त्रिलोचन सापकोटाले सोही विद्यालयकी १५ वर्षीया छात्रामाथि फेसबुक म्यासेन्जरमा अश्लील म्यासेज पठाउने तथा पिछा गर्ने गरेको खुलेको हो ।सापकोटाले छात्रालाई आर्थिक प्रलोभनसँगै आफूसँग होटलमा जान दबाब दिने गरेको लगायत अभियोगमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो ।

बालिकाको पारिवारिक चिनजानसमेत भएका सहायक प्रधानाध्यापक सापकोटाले बालिकाको बुबा चितवन नभएको मौका छोपी पिछा गरेर आफूसँग होटलमा बस्न भनेको जाहेरीमा उल्लेख छ ।बालिकाका अनुसार गत बिहीबार ब्रिजकोर्स पढेर आफन्तको घर बस्न गएको बेला सापकोटाले पिछा गर्दै सापकोटा सोही घरसम्म पुगेका थिए । आफन्तको घरमा कोही नहुँदा आफ्नो पिछा गरी शिक्षक आएको थाहा पाएपछि ४५ मिनेटसम्म शौचालयमा लुकेर आफूलाई जोगाएको बालिकाले प्रहरीसँग बताएकी छिन् ।

अति हैरानी दिएपछि बालिकाले परिवारलाई सुनाएकी थिइन् । त्यसपछि उनको परिवारले जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर अपराधमा जाहेरी दर्ता गरेका हुन् ।

बालिकाले दिएको जाहेरीको आधारमा आरोपी सहायक प्रधानाध्यापक सापकोटालाई गत बिहीबार हिरासतमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी राजन खनालले जाहेरीपछि शुक्रबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी दिए ।सहायक प्रधानाध्यापक सापकोटा चितवनको उत्कृष्ट विद्यालयमा पर्ने नारायणी नमुना माध्यामिक विद्यालय भरतपुरको आजबाट सुरु भएको कक्षा १२ का परीक्षाको केन्द्राध्यक्ष समेत रहेका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१