
काठमाडौं। आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका व्यक्तिहरूमा गोकर्णेश्वर नगरपालिका–३ बस्ने, दोलखा जिरी नगरपालिका–३ घर भएका ३६ वर्षीय जितेन्द्र बस्नेत, काठमाडौं महानगरपालिका–१५ बस्ने, उदयपुर उदयपुरगढी गाउँपालिका–६ घर भएका ३६ वर्षीय नरेन्द्र बहादुर तामाङ, र काठमाडौं महानगरपालिका–२६ बस्ने, स्याङ्जा वालिङ नगरपालिका–७ घर भएका ५६ वर्षीय नर बहादुर खड्का रहेका छन्।
उनीहरूले विभिन्न देशमा राम्रो तलबको रोजगारी दिलाइदिने भन्दै पीडितहरूबाट रकम असुलेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।पक्राउमध्ये जितेन्द्रले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ, नरेन्द्रले युएई पठादिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख रूपैयाँ र नर बहादुरले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ६५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएका थिए।
पीडितहरूले दिएको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले जितेन्द्र बस्नेतलाई काठमाडौं महानगरपालिका–९ बाट, नरेन्द्र बहादुर तामाङलाई काठमाडौं महानगरपालिका–२२ बाट शुक्रबार, र नरबहादुर खड्कालाई काठमाडौं महानगरपालिका–१२ बाट आइतबार पक्राउ गरेको हो।पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।