
नेपाल क्रिकेट संघ (क्यान) ले स्पट फिक्सिङको आरोपमा प्रतिबन्धित भएका क्रिकेटर मोहमद आदिल आलमको प्रतिबन्ध फुकुवा गरेको छ।
२०७९ मंसिरमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना भएको नेपाल टी-२० लिगका क्रममा आलममाथि स्पट फिक्सिङको गम्भीर आरोप लागेको थियो। त्यसपछि उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट प्रतियोगिताबाट प्रतिबन्ध लगाइएको थियो।
तर क्यानको इन्टेग्रिटी कमिटीले आवश्यक अनुसन्धान र प्रक्रिया पूरा गर्दै प्रतिबन्ध हटाउन सिफारिस गरेपछि क्यानले सो सिफारिसको आधारमा २०८२ वैशाख २१ गतेदेखि लागु हुने गरी प्रतिबन्ध फुकुवा गरेको हो।
यस निर्णयसँगै आदिल आलम पुनः राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुन पाउने छन्। क्रिकेटमा उनको पुनरागमनले धेरैलाई चासो र कौतूहल उत्पन्न गराएको छ।
नेपाल टी–२० लिगमा स्पट फिक्सिङको आरोपमा नेपाली राष्ट्रिय टोलीका पूर्वखेलाडी महबुब आलम, आदिल अन्सारी, नितेश गुप्ता, नवीन कँडेल र रवि माझीविरुद्ध सीआईबीले मुद्दा दायर गरेको थियो ।
नेपाली राष्ट्रिय टोलीमा रहेका आदिलले जनकपुर रोयल्सबाट खेल्नेक्रममा लिगको १२ औं खेलमा काठमाडौं नाइट्सविरुद्ध वेस्ट हाइटमा नो–बल फालेका थिए । त्यसपछि ‘फ्री हिट’ रहेको अर्को बल अफ स्टम्पभन्दा धेरै बाहिर फालेपछि उनलाई अनुसन्धानको दायरामा ल्याइएको थियो । उनले खेलको आफ्नो एकमात्र ओभरमा १५ रन दिएका थिए । उनले नेपाल टी–२० लिगको कम्तीमा दुई खेलमा सोही प्रकारले खेलेको आरोप सीआईबीले लगाएको थियो ।
फिक्सिङको आरोप लागेका क्रिकेटर महबुब आलम र आदिल आलम अन्सारीसहित ५ क्रिकेटरले २०८० साल चैत्रमा अदालतबाट सफाइ पाएका थिए । अदालतबाट सफाई पाएको भएपनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अनुसन्धान गरिहेकाले उनले अहिलेसम्म खेल्न नपाएको क्यानले बताइरहेको थियो ।
अब क्यानको निलम्बन फुकुवासंगै मोहमद आदिल आलम नेपाली क्रिकेटमा फर्किएका छन् । यद्दपी नेपाली टोलिबाट खेल्नका लागि भने आदिलले चयनकर्ताको मन जित्न पर्नेछ ।