
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलद्वारा घोषणा गरिएको हेमोफिलिया (रगत नजम्ने वंशाणुगत समस्या) रोगका बिरामीलाई निःशुल्क वितरण गरिने औषधी नेपाल आइपुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व हेमोफिलिया महासंघबीच गत फागुन ४ गते भएको समझौताअनुसार आवश्यक औषधी स्वास्थ्य सेवा विभागमा आइपुगेको र अब त्यसको वितरण प्रक्रिया प्रारम्भ हुन लागेको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले जानकारी दिए।
उनका अनुसार, “पाँच प्रकारका औषधी आएका छन्, आवश्यकता र प्राथमिकताका आधारमा वितरण सूची तयार पारेर सम्बन्धित अस्पतालमा पठाइनेछ।”
मन्त्रालयले त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल र सिभिल अस्पतालमार्फत औषधी वितरण गर्नेछ। साथै, सातै प्रदेशका थप १० प्रादेशिक अस्पतालहरूमा पनि औषधी उपलब्ध हुने व्यवस्था गरिएको छ।
गत माघ १० गते मन्त्री पौडेलले सरकारी अस्पतालमार्फत हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधी वितरण गर्ने निर्णय गरेका थिए। महँगो उपचार लागतका कारण धेरै बिरामी र सरोकारवालाहरूले सरकारसँग औषधी व्यवस्था गर्न माग गर्दै आएका थिए।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, महासंघबाट प्राप्त पाँच प्रकारका औषधी अब उपचारका लागि प्रयोगमा ल्याइनेछ।विश्व स्वास्थ्य संगठनले नेपालमा अझै पहिचान नभएका करिब ५ हजार हेमोफिलिया बिरामी रहेकाे अनुमान गरेको छ। २०७८ को जनगणनाका आधारमा अपांगता भएका २.२ प्रतिशत जनसंख्यामध्ये ०.८ प्रतिशतमा हेमोफिलिया हुन सक्ने अनुमान गरिएको छ।