बोलेरो बेपत्ता प्रकरण: अनुसन्धानमा अघि बढ्यो भूगर्भ विभाग

काडमाडौँ । मकवानपुरको हेटौंडा स्थित चुच्चे खोलानजिक गुड्दागुड्दै बेपत्ता भएको बोलेरो गाडी तीन दिन बितिसक्दा पनि फेला परेको छैन। घटना स्थलको जमिनको अवस्थाबारे अध्ययन गर्न भूगर्भ विभागको टोलीले अनुसन्धान थालेको छ।

शुक्रबार दिउँसो हेटौंडा उपमहानगरपालिका–१६ र १७ को सीमास्थित गैरी गाउँमा ना ४ च ४८३३ नम्बरको बोलेरो सडक भासिएर बेपत्ता भएको थियो। घटनास्थलमा जेसीबी प्रयोग गरिए पनि गाडीको कुनै अत्तोपत्तो नलागेपछि भूगर्भविद्को टोली हेटौंडा उपमहानगरपालिकाको समन्वयमा अनुसन्धानका लागि खटिएको हो।

भूगर्भविद् नारायण अधिकारीका अनुसार पहिलो चरणमा जमिनको बनावट, सतहमुनिको माटोको तह, भूमिगत पानीको अवस्था र म्याग्नेटोमिटर उपकरणमार्फत चुम्बकीय पदार्थको अध्ययन गरिनेछ। साथै, वरपरको भूगोल र सतही पानीको प्रवाहसम्बन्धी जानकारी पनि संकलन गरिनेछ।

अध्ययनको निष्कर्षलाई ‘हेटौंडा क्षेत्रको वातावरणीय तथा इन्जिनियरिङ भूगर्भिक नक्सा’ तथा फिल्ड निरीक्षणको आधारमा प्रतिवेदनमा रूपान्तरण गरिनेछ।उनका अनुसार, गाडी बेपत्ता भएको स्थान दलदलयुक्त भएकाले बीचमै पुगेर अनुसन्धान गर्न सकिएको छैन। “पोखरी जस्तो बनेको क्षेत्र भएकाले छेउमै बसेर मात्र अध्ययन गर्नुपरेको छ,” अधिकारीले जानकारी दिए।

स्थानीयका अनुसार घटनास्थल अघिल्लो दुई–तीन दशकसम्म धाँप क्षेत्र (सदावहार दलदल) रहँदै आएको थियो। अघिल्लो पुस्ताका बाआमाहरूले गोरु जोत्ने क्रममा समेत बेपत्ता भएको अनुभव बाँडेका छन्। २०७० को दशकपछि पानी सुक्दै गएपछि मात्रै त्यहाँ सडक बनेको हो।सडक भासिनुको कारण वरिपरिका माछा पोखरी र ती पोखरीका लागि गरिएको बोरिङ पनि हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१