• २०८३ साउन ७
  • 2026 July 23, Thursday

अन्तरजातीय विवाह गर्ने चालीस दम्पती सम्मानित

काठमाडौं । खोटेहाङ गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई नगदसहित सम्मान गरेको छ। फरक–फरक समुदायका व्यक्तिहरूबीच वैवाहिक सम्बन्ध कायम गरी सहअस्तित्वमा जीवनयापन गरिरहेका जोडीलाई गाउँपालिकाले प्रोत्साहनस्वरूप यो सम्मान प्रदान गरेको हो।

गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राईका अनुसार, यो सम्मान ‘दलित लक्षित कार्यक्रम’ अन्तर्गत विनियोजित बजेटबाट प्रदान गरिएको हो। उनले भने, “हाम्रो समाजमा अझै पनि जातीय विभेदको ठूलो पर्खाल छ। यसलाई भत्काएर सहिष्णु र समावेशी समाज निर्माण गर्न अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्नुपर्छ।”

गाउँपालिकाले वडा नं १ लिकुवापोखरीका ४, वडा नं २ वाप्लुखाका १, वडा नं ३ सावाकटहरेका ४, वडा नं ४ बडकादियालेका ४, वडा नं ६ इन्द्रणीपोखरीका ६, वडा नं ७ खोटाङबजारका १, वडा नं ८ सिम्पानीका ११ र वडा नं ९ लिच्कीराम्चेका ९ जोडीलाई सम्मान गरेको हो। वडा नं ५ चिप्रिङका जोडीलाई भने केही समयपछि अर्को चरणको कार्यक्रममार्फत सम्मान गरिने उपाध्यक्ष रुपेश राईले जानकारी दिए।

अन्तरजातीय विवाह गरेका केही जोडीहरू सामाजिक रूपमा अदृश्य हिंसाको सामना गरिरहेका अवस्थामा, गाउँपालिकाको यस सम्मानले उनीहरूमा आत्मबल बढाएको र हर्षित बनाएको अध्यक्ष राईले बताए। उनका अनुसार, यो सम्मान अभियान गाउँपालिकाको सचेतनामूलक कार्यक्रम अन्तर्गत विभिन्न वडामा सञ्चालन गरिएको हो।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, खोटेहाङ गाउँपालिका कार्यसमितिको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो। संघका सचिव युवराज विश्वकर्माले यस्तो प्रकारको सम्मानले सभ्य र समावेशी समाज निर्माणमा टेवा पुग्ने अपेक्षा व्यक्त गरे।कार्यक्रमको अवसरमा संघले वडास्तरीय जनचेतनामूलक कार्यक्रमसमेत आयोजना गरेको थियो। कार्यक्रममा प्रशिक्षक मिलन चाहारले जातीय विभेद, छुवाछूत र सम्बन्धित कानुनी व्यवस्थाबारे प्रस्तुति दिएका थिए।