कांग्रेस सहमहामन्त्री जीवन परियार भन्छन नीति तथा कार्यक्रम सातबुँदे सहमतिको मर्म अनुरुप भएन (भिडियो सहित)

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सहमहामन्त्री तथा सांसद जीवन परियारले सरकारका नीति तथा कार्यक्रमले सातबुँदे सहमतिलाई समेट्न नसकेको भन्दै असन्तुष्टि पोखेका छन्।नीति तथा कार्यक्रमअन्तर्गतको बिहीबार (आज) बसेको संसद् बैठकमा भाग लिएका परियारले यसमा सरकारको कमजोरी देखिएको बताएका हुन्।

‘कता-कता हामीले आशा गरेअनुसार चाहिँ; यो नीति तथा कार्यक्रममा केही कमजोरी भएको हो कि ? भन्ने पनि प्रश्न उठेको छ। नीति तथा कार्यक्रम संक्षिप्तमा आएको छ। यसले लागू गर्न सक्ने कुराहरूलाई बढी जोड गरेको छ, यो अत्यन्तै सकारात्मक छ। तर, केही कुराहरू यसमा दोहोरिएका पनि छन्। केही नयाँ पनि आएका छन्। यो मिश्रित खालको छ भनेर हामीले भन्दा फरक नपर्ला भन्ने छ,’ उनले भने।

उनले अगाडि भने, ‘सरकार गठन हुँदा समग्र देशका उद्योगी, व्यवसायी र आर्थिक क्षेत्रमा लागेका, बेरोजगार युवा-युवातीहरू सम्पूर्ण क्षेत्रका व्यक्तित्वहरू अत्यन्तै हर्षित थिए।

अत्यन्तै खुसी थिए। एउटा बलियो सरकार आउने भयो, एउटा सुशासन दिन सक्ने सरकार आउने भयो भन्ने एउटा अभिलाषा पनि थियो। र, यसै सन्दर्भमा हामीले कांग्रेस र एमालेका बीचमा सातबुँदे सहमति गर्‍यौँ, त्यसभित्र आर्थिक गतिविधिलाई चलायमान बनाउने, आन्तरिक र बाह्य लगानीलाई प्रोत्साहन गर्ने, मलुकभित्र पर्याप्त आन्तरिक रोजगारी सृजना गर्ने, आवश्यकताअनुसार अहिलेसम्मको अनुभवका आधारमा संविधान संशोधन गर्नेलगायतका महत्त्वपूर्ण विषयहरू हामीले दुई दलका बीचमा सहमति गरेका थियौँ। यसले एउटा ठूलो आशा हामीलाई जगाएको थियो।’तर, अहिले अपेक्षित नीति तथा कार्यक्रम नआएको उनले बताए।

भिडियो

https://www.facebook.com/share/v/1AYLovNEK6/

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१