नेपाल र हङकङबीचको पहिलो खेल वर्षाले प्रभावित, अब बहराइनसँग खेल्ने

आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र हङकङबीच थाइल्यान्डको बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा शुक्रबार बिहान खेल्ने तय भएको पहिलो खेल भारी वर्षाका कारण टस नै नभई रद्द गरिएको छ।

नेपाल समूह ‘सी’ मा रहेको छ, जहाँ उसँगै हङकङ र बहराइन रहेका छन्। अब नेपालले शनिबार बहराइनविरुद्ध दोस्रो खेल खेल्नेछ। त्यसपछि नेपालले वैशाख ३० गते हङकङ र जेठ १ गते फेरि बहराइनसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।

समूह चरणको समाप्तिमा शीर्ष स्थानमा रहने टोलीले फाइनल राउन्डमा स्थान बनाउनेछ। फाइनल राउन्डमा तीन टोलीबीच प्रतिस्पर्धा हुनेछ, जसबाट दुई टोलीले आगामी विश्वकप छनोटमा पुग्ने मौका पाउनेछन्।

एसियाबाट छनोट भएका दुई टोलीसहित कुल १० टोलीबीच विश्वकप छनोट खेलिनेछ। तीमध्ये चार टोली सन् २०२६ मा इंग्ल्यान्डमा आयोजना हुने महिला टी-२० विश्वकपमा छनोट हुनेछन्।

नेपालले यस प्रतियोगिताको तयारीका लागि दिल्लीमा अभ्यास सत्र आयोजना गरेको थियो। अभ्यासका क्रममा नेपाली टोलीले दिल्लीको महिला टोलीविरुद्ध पाँच अभ्यास खेल खेलेको थियो।

नेपाली टोली:
इन्दु बर्मा (कप्तान), पूजा महतो (उपकप्तान), रुबिना क्षेत्री, बिन्दु रावल, राजमती ऐरी, मनीषा उपाध्याय, कविता जोशी, रुबी पोद्दार (विकेटकिपर), सबनम राई, रिया शर्मा, सम्झना खड्का, रोमा थापा (विकेटकिपर), ईश्वरी बिस्ट।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१