
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नरको नियुक्ति छिट्टै हुने बताएका छन्। शुक्रबार बुढानीलकण्ठस्थित निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा देउवाले गभर्नर नियुक्तिमा ढिलाइ भएको गुनासोलाई सम्बोधन गर्दै अब चाँडै निर्णय हुने बताएका हुन्।
बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले सञ्चारकर्मीहरूसँग बोल्दै, व्यावसायिक र मौद्रिक नीति बुझ्ने योग्य व्यक्तिलाई सहमति र समन्वयबाट नियुक्त गरिने सभापति देउवाको भनाइ दोहोर्याए।
त्यस्तै, कांग्रेसले संक्रमणकालीन न्यायका विषयमा समेत चासो व्यक्त गर्दै टीआरसी र बेपत्ता आयोगका संरचनाहरू अझै नबन्दा प्रक्रिया अघि बढ्न नसकेकोमा चिन्ता जनाएको छ। प्रवक्ता महतका अनुसार, अब यस विषयमा सरोकारवाला दलहरूसँग संवादलाई तीव्रता दिई निष्पक्ष रूपमा समाधान खोज्ने निष्कर्ष बैठकले निकालेको हो।
यसैगरी, विद्यालय शिक्षा विधेयकसम्बन्धी छलफलमा सार्वजनिक, संस्थागत र निजी विद्यालयहरूलाई समेटेर विधेयकलाई शीघ्र टुंगोमा पुर्याउनुपर्ने कुरामा पनि बैठकले जोड दिएको छ। कांग्रेसले निजी विद्यालयहरूलाई बन्द गर्ने खालको नीति आउन नदिनुपर्ने र त्यहाँ कार्यरत शिक्षकहरूका सेवा सुविधा र नाफामुखी नियमनबारे पनि स्पष्ट व्यवस्था आवश्यक भएको बताएको छ।