• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

पाकिस्तान तथा भारतको संवेदनशील क्षेत्रमा रहेका विद्यार्थीलाई स्वदेश फर्काउन सुमना श्रेष्ठको माग

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले भारत–पाकिस्तानबीच बढ्दो तनावलाई मध्यनजर गर्दै पाकिस्तानका संवेदनशील क्षेत्रहरूमा रहेका नेपाली विद्यार्थीको सुरक्षामा ध्यान दिन माग गरेकी छन्।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई पत्र लेख्दै श्रेष्ठले पाकिस्तानमा एमबीबीएस अध्ययनरत ८० भन्दा बढी नेपाली विद्यार्थी जोखिममा रहेको भन्दै उनीहरूलाई नेपाल फर्काउने वातावरण मिलाउन आग्रह गरेकी हुन्।

पत्रमा उल्लेख भएअनुसार, लाहोर, कराँची, फैसलाबाद, मुल्तान, सियालकोट, बाहावलपुर लगायतका सहरहरूमा नेपाली विद्यार्थीहरू रहेका छन् र हाल भारत–पाकिस्तान तनावका कारण उनीहरू त्रसित छन्।

श्रेष्ठले परराष्ट्र मन्त्रालयले उद्धारको लागि के योजना बनाएको हो भनी प्रश्न गर्दै, यदि इजरायलमा गरिएको जस्तै चार्टर्ड फ्लाइट गरिने हो भने त्यो कुन अवस्थामा हुनेछ भन्ने स्पष्टता माग गरेकी छन्। साथै, नेपाल ल्याउन नसकिने अवस्था भए उनीहरूलाई सुरक्षित स्थानमा राख्ने व्यवस्था के कस्तो छ भन्नेबारे पनि जानकारी माग गरेकी छन्।

यसबाहेक भारतमा पनि ठूलो संख्यामा नेपाली विद्यार्थी रहेको हुँदा, उनीहरूको अवस्थाबारे विवरण संकलन गरी आवश्यक योजनाबारे जानकारी दिन उनले आग्रह गरेकी छन्।