
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले प्रस्तुत गरेको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम अघिल्लो वर्षको तुलनामा कम प्रभावकारी भएको टिप्पणी गरेका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले अघिल्लो वर्षको नीति तथा कार्यक्रममा केही सकारात्मक प्रयास देखिएको भए पनि यसपटक त्यसो नदेखिएको बताए। “कतिपय सैद्धान्तिक दृष्टिकोणले हेर्दा अघिल्लो वर्ष केही फरक र सकारात्मक देखाउन खोजिएको थियो,” उनले भने, “तर यस वर्ष यस्तो प्रयास देखिँदैन।”
उनले अघिल्लो वर्षको नीति कार्यक्रममा ‘जनतामा आशा र भरोसा जगाउनेगरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने’ जस्ता अभिव्यक्तिहरू समावेश रहेको स्मरण गराए। तर, यस वर्ष त्यस प्रकारको उद्देश्य नदेखिएको उनको धारणा छ।”यसपटक प्रयोग गरिएको भाषा व्यवस्थाको रक्षार्थ लड्ने भन्ने खालको छ, जसले सरकारको मनोबल कमजोर भएको आभास दिन्छ,” उनले बताए।
संविधानभित्र रहेर आफ्नो एजेण्डा उठाउने अधिकार सबैलाई भएको उल्लेख गर्दै लिङ्देनले राप्रपाले पनि सोही अनुरूप आफ्नो विचार प्रस्तुत गर्दै आएको स्पष्ट गरे। “हामीले संविधानको पूर्ण खारेजी होइन, संविधानभित्रै रहेर आफ्ना विचार अगाडि बढाउने प्रतिवद्धता जनाउँदै आएका छौं,” उनले भने।
उनले जनतामा निराशा हटाई आशा जगाउन सरकारले ठोस पहल गर्नुपर्ने आवश्यकता औंल्याउँदै फजुल खर्च कटौतीजस्ता उपाय अपनाउन सुझाव दिए। “फजुल खर्च हुने संरचनाहरू खारेज गरियो भने हामी सरकारको साथमा छौं,” लिङ्देनले बताए।उनको निष्कर्षमा, प्रस्तुत नीति तथा कार्यक्रम जनताको मनमा आशा जगाउन नसक्ने खालको रहेको छ।