• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

नगरकोट बसाइमा पूर्वराजा ज्ञानेन्द्रद्वारा राजसंस्थावादी नेताहरूसँग व्यापक छलफल ,संकेत के त ?

राजसंस्थाको पुनर्स्थापनासम्बन्धी आन्दोलन सार्वजनिकरूपमा घोषणा भइसकेको अवस्थामा पूर्वराजा ज्ञानेन्द्र शाहले नगरकोटमा करिब दुई हप्ता बिताएका छन्। १२ दिनको बसाइमा उनले विभिन्न क्षेत्रका १२ जना व्यक्तिहरूसँग भेटघाट गरी हिन्दू धर्म, राजनीतिसँग जोडिएका विषय र समसामयिक परिस्थितिबारे छलफल गरेका छन्।

सात जना पारिवारिक सदस्य र सुरक्षा टोलीसहित बसेका शाहले वैशाख १९ गते विवाह वर्षगाँठका कारण राजनीतिक भेटघाट नगरे पनि बाँकी दिनहरूमा सक्रिय संवाद गरेका थिए। विशेषगरी वैशाख २६ गतेसम्म उनले राजसंस्थावादी आन्दोलनका अगुवा, पत्रकार र पूर्वसेनाअधिकारीहरूसँग विचार आदानप्रदान गरेका थिए।

शाहले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपाल अध्यक्ष कमल थापा, संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, पत्रकार भूषण दाहाल, एभिन्युज टेलिभिजन प्रमुख भाष्करराज राजकर्णिकार, समितिका सल्लाहकार जगमान गुरूङ, र नेपाली सेनाका पूर्वजर्नेल प्रेमसिंह बस्नेतलगायतसँग भेट गरेका थिए।

यस्तै, उनले राप्रपाका सहमहामन्त्री रवीन्द्रप्रताप शाहसँग बढी समय बिताएका थिए भने राप्रपा सांसद दीपक सिंहसँग पनि भेट गरेका थिए। नगरकोटको बसाइका क्रममा उनले काभ्रेपलाञ्चोकस्थित मण्डन देउपुर नगरपालिकामा रहेको हिमानी ट्रस्टको ४२ रोपनी जग्गा पनि अवलोकन गरेका थिए।

चैत १५ पछि राजसंस्थावादी धारका नेताहरू एउटै मञ्चमा देखिन थालेका छन्। वैशाख १५ गते रत्नपार्कस्थित शान्तिवाटिकामा आयोजित राप्रपा नेपालको कार्यक्रममा लिङ्देन, कमल थापा, र केशरबहादुर विष्ट एकै स्थानमा उपस्थित भएर एकताको संकेत गरेका थिए ।
विशेषगरी गत फागुन ६ गते प्रजातन्त्र दिवशको अवसरमा बोलेका पुर्वराजाले त्यस दिन देखि राजनितीक सक्रियता देखाइरहेका छन् । सम्भवतः ६२\६३ जनआन्दोलन पछी पुर्वराजा सबैभन्दा सक्रिए बनेको यसैपाली हो । वर्षमा ३-४ पटक बोल्ने पुर्वराजा अहिले २ महिनाको अवधीमै ३-४ पटक बोलिसकेका छन् ।
जति पटक उनि मुख खोलेर बोलेका छन् त्यो भन्दा कैंयौ गुणा बढी उनि मौन भएरै पनि बोलेका छन्।
यो अवधीमा उनले आफ्नो भेटघाटलाई पनि निकै तिब्र बनाएका छन् ।पछिल्लो समय जसरी नेपालमा व्यवस्था परिवर्तन र राजसंस्था पुनःस्थापनाको वहस चलिरहेको छ , त्यसमा राम्रै मलजल गर्ने काम गरेको छ पुर्वराजाको यो सक्रियताले ।