भोज संस्कृति फेरिँदै, मही र दहीको प्रयोग पुनः लोकप्रिय हुँदै

पछिल्लो समय मही र दहीको प्रयोग पुनः लोकप्रिय बन्दै गैरहेको छ । विशेषगरि तराईका क्षेत्रमा विगतमा विवाह, व्रतबन्ध तथा भोजभतेरमा कोल्ड ड्रिंक, जुस र बोतलबन्द पेय पदार्थको अत्यधिक प्रयोग हुने गरे पनि अहिले त्यो प्रवृत्तिमा परिवर्तन आउन थालेको छ। गाउँदेखि सहरसम्म, सामान्य भोजदेखि पार्टी प्यालेससम्म मही र दही पुनः प्रमुख पेयको रूपमा स्थापित हुँदै गएका छन्।

विगतमा परम्परागत रूपमा प्रयोग हुने मही र दहीको चलन फेरि बढ्दै गएको छ। पहिले बोतलमा बन्द हुने पेय पदार्थ प्राथमिकतामा पर्ने गरे पनि अब मानिसहरु महिमा आकर्षित भैरहेका छन् । तराइका जिल्लामा मात्र नभएर पछिल्लो समय काठमाडौं उपत्यकामा पनि महीको माग ह्वात्तै बढेको व्यवसायीहरु बताउछन् । दहि र लस्सी पिउने चलन पहिलेबाट भएको भएपनि अहिले महीले पनि बजार तताएको डेरी संचालकहरु बताउछन् । होटल तथा रेस्टुरेण्टमा खाजा खान जानेहरुले पनि आजकाल मेनुमा मही र दहि खोज्न थालेका छन् ।

सहरका पार्टी प्यालेसमा मात्र होइन, औपचारिक कार्यक्रम र सभासमारोहहरूमा पनि गर्मी मौसममा स्वादिलो र शीतल प्रभाव हुने भएकाले महीको प्रयोग बढ्दो छ। अब खाजामा चिया वा जुसको सट्टा मही पनि विकल्पको रूपमा राखिन थालिएको छ।

महीमा प्रोटिन, क्याल्सियम र इलेक्ट्रोलाइट्स प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरलाई चिसो राख्न सहयोग पुर्‍याउँछ।

मही र दहीको माग बढेसँगै स्थानीय किसान र दुग्ध व्यवसायी पनि लाभान्वित हुन थालेका छन्। पशु फार्मका सञ्चालक अनुसार अहिले भोजभतेरका लागि सयौँ किलो दहीको अर्डर आउने क्रम बढेको छ, जसले स्थानीय उत्पादनमा सकारात्मक प्रभाव पारिरहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१