• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

वीरगञ्ज महानगरको सार्वजनिक स्थान सरसफाइ अभियान : बेवारिसे सवारी हटाउन सुरु

काठमाडौँ । वीरगञ्ज महानगरपालिकाले सार्वजनिक स्थानमा राखिएका बेवारिसे सवारी साधन र उपकरण हटाउने अभियान सुरु गरेको छ। सडक, फुटपाथ, चोक र बसपार्क क्षेत्रलाई स्वच्छ, सुन्दर र हराभरा बनाउने उद्देश्यसहित महानगरले यो अभियान अघि बढाएको हो।

महानगरको नगर प्रहरी र सरसफाइ शाखाको टोलीले आज वडा नं. २२, जगरनाथपुरस्थित फुटपाथमा झन्डै दुई वर्षदेखि राखिएको एक पुरानो रोलर मेसिन दुई क्रेनको सहायताले हटाएको छ। यस्तै, बसपार्क क्षेत्रमा लामो समयदेखि नचलिरहेका एक बस र एक ट्रक पनि हटाई डम्पिङ साइटमा पु-याइएको नगर प्रहरी प्रमुख हरि भुसालले जानकारी दिए।

गत बुधबार पनि महानगरले बसपार्क क्षेत्रमा रहेका दुई बेवारिसे बस हटाएको थियो। पटक–पटक सार्वजनिक सूचना जारी गरेर हटाउन आग्रह गर्दा पनि प्रतिक्रिया नआएपछि महानगर आफैंले सवारी हटाउन थालेको वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले बताए।उनका अनुसार, यस्ता सवारी साधनले नगरको सौन्दर्य बिगार्नुका साथै पैदल यात्रु र यातायात सञ्चालनमा अवरोध पुर्‍याइरहेका थिए।

‘सहर सबैको साझा घर हो, नियम पालना गरियो भने वीरगञ्जलाई व्यवस्थित सहर बनाउन सकिन्छ,’ प्रमुख सिंहले भने।महानगरले यो अभियान यात्रु, साना व्यापारी, ट्राफिक प्रहरी, यातायात व्यवसायी र स्थानीयवासीसँगको सहकार्यमा अघि बढाएको हो। वीरगञ्जलाई सफा, सुरक्षित र आधुनिक सहरमा रूपान्तरण गर्ने लक्ष्यसहित अभियान विस्तार गरिने जनाइएको छ।