गुल्मीको रेसुङ्गा विमानस्थलबाट अब हप्तामा तीन पटक नियमित उडान सेवा सञ्चालन हुने भएको छ। यात्रुको चाप बढेपछि नेपाल एयरलाइन्सले आइतबार, मङ्गलबार र बिहीबार रेसुङ्गा–काठमाडौं बीच उडान गर्ने निर्णय गरेको हो।
रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाका अनुसार, विगतमा विमान अभाव र खराब मौसमका कारण सेवा अनियमित रहँदै आएको थियो। तर हाल टुइनेटर विमान मर्मतपछि पुनः सञ्चालनमा आएपछि सेवा नियमित गर्ने निर्णय गरिएको हो।
काठमाडौं–रेसुङ्गा रुटको भाडा सात हजार २८० रुपैयाँ र रेसुङ्गा–काठमाडौंको भाडा सात हजार ८० रुपैयाँ निर्धारण गरिएको छ।
१८ सिट क्षमताको जहाज बिहान ६ः१० बजे काठमाडौंबाट र ७ः१५ बजे रेसुङ्गाबाट उडान गर्ने तालिका छ। स्थानीयवासी मनोज कार्कीका अनुसार नियमित सेवा सुरु हुने खबरले गुल्मेलीहरूमा उत्साह देखिएको छ।