
काठमाडौं । साउदी अरबमा रोजगारदाता कम्पनी बन्द भएपछि सयौं नेपाली श्रमिक अलपत्र परेकोप्रति प्रतिनिधिसभाको आजको बैठकमा एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले सरकारको ध्यानाकर्षण गराएका छन्।
बैठकको आकस्मिक समयमा बोल्दै बर्तौलाले साउदीको जुवेल सहरस्थित सेन्ड्रन इन्टरनेसनल कम्पनी लिमिटेड बन्द भएपछि उक्त कम्पनीमा कार्यरत ४६९ जना नेपाली समस्यामा परेका भन्दै तत्काल उद्धार गर्न सरकारलाई आग्रह गरे।
उनका अनुसार, तीमध्ये २२६ जना नेपाली स्वदेश फर्कन चाहन्छन् भने बाँकी २४३ जनाले साउदीमै अन्य कम्पनीमा रोजगारीको अवसर खोजिरहेका छन्। श्रमिकहरू दुई महिनादेखि नौ महिनासम्मको तलब नपाएको, पटक–पटक ध्यानाकर्षण गराउँदा पनि कम्पनी व्यवस्थापनले कुनै चासो नदेखाएको उनले बताए।
“कामविहीन भएर श्रमिकहरू शिविरमा बसिरहेका छन्, खाद्यान्नको अभाव छ, बिरामीलाई उपचार मिलेको छैन,” सांसद बर्तौलाले भने, “नेपाल फर्कन चाहनेहरूको भिसा बन्द भएको छ। उनीहरूको शीघ्र उद्धार, सहयोग र आवश्यक सहजीकरण गर्न म सरकारसँग आग्रह गर्दछु।”