काठमाडौं । निजामती सेवाको विशिष्ट श्रेणी अन्तर्गत सचिव पदका दुई स्थान हाल रिक्त भएका छन्। महालेखा नियन्त्रक कार्यालयका सचिव गणेशप्रसाद पाण्डे वैशाख ३० गते अनिवार्य अवकाशमा गएसँगै रिक्त सचिवको संख्या दुई पुगेको हो।
यसअघि वैशाख २५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह अनिवार्य अवकाशमा गइसकेका थिए।
यद्यपि दुई सचिव पद खाली भइसके पनि अहिलेसम्म बढुवाको प्रक्रिया अघि बढेको छैन। सचिव बढुवाका लागि लोक सेवा आयोगका अध्यक्षको नेतृत्वमा पाँच सदस्यीय समिति गठन हुने कानुनी व्यवस्था छ। उक्त समितिमा आयोगको अध्यक्षले तोकेको सदस्य, मुख्यसचिव, आयोगद्वारा मनोनित विषय विशेषज्ञ, र सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्यसचिवका रूपमा रहनेछन्।
दुवै सचिव प्रशासन सेवाका भएकाले बढुवा समितिको बैठक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बस्नुपर्ने भए पनि अहिलेसम्म बैठक बोलाइएको छैन। सचिव बढुवा प्रक्रिया स्थगित भएकोबारे जानकारी लिन खोज्दा मन्त्रालयका सचिव रविलाल पन्त सम्पर्कमा आएका छैनन्।
जेठ महिनाभरि चार सचिव अनिवार्य अवकाशमा जाँदैछन्। जल तथा ऊर्जा आयोगका सचिव मधुप्रसाद भेटवाल जेठ ६ गते, गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम विष्ट जेठ २४ गते, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा जेठ २८ गते, र संघीय संसद सचिवालयका सचिव सुदर्शन खड्का जेठ ३० गते अनिवार्य अवकाशमा जाने तालिका छ।