काठमाडौं। माओवादी केन्द्रका सांसद सुदन किराँतीले अघोषित लोडसेडिङ बढेको गुनासो जनस्तरबाट आएको बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा उनले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको बर्खास्तीपछि लोडसेडिङ बढेको र जनताबाट व्यापक असन्तुष्टि सुनिएको उल्लेख गरे।
“मैले भर्खरै पूर्वी नेपालका विभिन्न स्थानहरूमा भ्रमण गरेँ। त्यहाँ अधिकांश स्थानमा बत्ती गएको देखियो। घिसिङको बर्खास्तीपछि बत्ती जान थाल्यो भन्ने गुनासो सुनियो,” उनले भने।
सांसद किराँतीले थप प्रश्न गरे, “के यो अघोषित लोडसेडिङ हो? या कमजोर व्यवस्थापनको परिणाम?” साथै, उनले घिसिङको नेतृत्वमा प्राधिकरण नाफामा रहेको भए पनि नयाँ एमडी हिटेन्द्रदेव शाक्यको आगमनसँगै घाटामा जानु कस्तो व्यवस्थापन भएको हो भनेर पनि प्रश्न गरे।
“कुलमान घिसिङको नेतृत्वमा नाफामा गएको प्राधिकरण अब संकटग्रस्त छ, श्वेतपत्र अनुसार पनि यसले चिन्ताजनक संकेत दिन्छ,” उनले भने, “के यो प्राधिकरणलाई कौडीको भाउमा बेच्ने योजना हो?”