• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

संसद् भवन निर्माण ढिलाइमा ठेकेदारको लापरबाही : उपप्रधानमन्त्री सिंह

काठमाडौं। उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारमा निर्माणाधीन संघीय संसद् भवनको निर्माणमा ठेकेदार पक्ष गम्भीर नभएको टिप्पणी गरेका छन्।

बिहीबार सिंहदरबारमा बसेको ‘राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको’ बैठकमा बोल्दै मन्त्री सिंहले ठेकेदार कम्पनीले काममा ढिलाइ गर्दै पटक–पटक म्याद थप गराएर जिम्मेवारीबाट पन्छिने प्रवृत्ति देखिएको बताए।

‘८६ प्रतिशत भौतिक प्रगति भएको भनिएको छ,’ उनले भने, ‘तर बाँकी काम समयमै सम्पन्न गर्न आवश्यक कानुनी प्रावधान के–के छन्, जरिवाना लिनेसम्मको व्यवस्था गर्नुपर्छ। ठेकेदारहरूले “म्याद त थपिन्छ” भन्ने मानसिकताले काम लिइरहेका छन्।’

मन्त्री सिंहले ठेकेदारलाई जिम्मेवार बनाउन आवश्यक सबै उपाय अपनाउने चेतावनी पनि दिए। ‘अब अन्तिम म्यादजस्तो गरेर अगाडि जान सहमति छ,’ उनले स्पष्ट पारे, ‘काममा लापरवाही गरे कानुनअनुसार कारबाही गरिनेछ।’