• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

रवि लामिछाने विरुद्धको उजुरीमा नाटकीय ‘ट्विस्ट’, पीडित भन्छन्: हामीले त उजुरी नै दिएका थिएनौं

बुटवलको चर्चित सुप्रिम सहकारी ठगी प्रकरणमा एकपछी अर्को नयाँ, नयाँ खुलासा भैरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध प्रहरीले पूरक अनुसन्धानका लागि जाहेरी दिएको भनिएका बचतकर्ताहरू नै धमाधम “हामीले रविविरुद्ध उजुरी दिएकै होइनौं” भन्दै सामाजिक सञ्जालमा सार्वजनिक हुन थालेका छन्! यो प्रकरणले प्रहरी अनुसन्धान र जाहेरी प्रक्रियामाथि नै गम्भीर प्रश्न उठाएको छ।

पछिल्लो एक साताभित्रै तीन जना पीडित बचतकर्ताले आफूहरूले रविलाई पोलेर किटानी जाहेरी नदिएको खुलासा गरेका छन्।

जसमध्य जाहेरीकर्ताको सूचीमा पहिलो नम्बरमा रहेकी तिलोत्तमाकी पूजा न्यौपानेले फेसबुकमा लेखेकी छिन्, “मैले मेरो बचत फिर्ता पाऊँ भनेर निवेदन दिएकी हुँ, रविविरुद्ध किटानी जाहेरी दिएकी थिइनँ।”


त्यस्तै अर्का उजुरीकर्ता भनिएका नारायण बहादुर पहराई हुन् , उनले पनि रवि विरुद्द उजुरी दिन आफुलाई प्रयोग गरिएको आशय आफ्नो सामाजीक सञ्जालमार्फत व्यक्त गरेका छन् ।

सञ्जालमा उनले बचत भएकोलाई किन मुख्य उजुरीकर्ता बनाइयो,मैले बुझ्न सकिनँ,” भनेका थिए ।

त्यस्तै बुटवलकै गिता आचार्य पनि यस विषयमा बोलेकी थिइन् , आचार्यले पनि आफ्नो रकम फिर्ताको उजुरीलाई प्रहरीले अनुमतिविना रविविरुद्ध प्रयोग गरेको आरोप लगाएकी थिइन्।यस बारेमा उनको मेसेन्जरको स्क्रिन सट सार्वजनिक भएको थियो ।

यसरी पछिल्लो केहि साता देखी रवि विरुद्द आफुहरुलाई प्रयोग गरिएको भन्दै यी र यस्ता किसिमका समाचारहरु सार्वजनिक भैरहेका छन् ।यसले सरकार र प्रहरी प्रशासन नै रविलाई दुःख दिन लागि परेको हो कि भनेर साधरण जनमानसमा शंङ्का उब्जिरहेको छ ।

सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीबाट १ करोड धरौटीमा छुटेका लामिछाने, उच्च अदालतको आदेशपछि हाल पुर्पक्षका लागि रुपन्देही कारागारमा छन्।

उनीसँगै पूर्वडीआईजी छविलाल जोशी पनि थुनामा छन्। तर, प्रकरणका मुख्य नाइके मानिएका जीबी राईलगायत अन्य फरार प्रतिवादीलाई पक्राउ गर्न प्रहरीले चासो नदेखाएको र रविलाई मात्र राजनीतिक पूर्वाग्रहका आधारमा फसाउन खोजिएको रास्वपा कार्यकर्ताहरूको निरन्तर आरोप छ।

रास्वपा लुम्बिनी प्रदेश उपाध्यक्ष शालिकराम घिमिरेका अनुसार, सुरुमा रविविरुद्ध जाहेरी नै परेको थिएन, पछि प्रहरीले पूरक जाहेरी आह्वान गरेर जवर्जस्ती प्रतिवादी बनाएको हो। “पीडितको पैसा फिर्ता गर्नेभन्दा पनि रविलाई नै फसाउने खेल भइरहेको छ भन्ने कुरा अब बचतकर्ताहरूले नै बुझ्न थालेका छन्, त्यसैले उनीहरु सामाजिक सञ्जालमा बोल्न थालेका हुन्,” घिमिरेले भनेका छन् ।

एकपछि अर्को बचतकर्ताले आफूहरूले रविविरुद्ध किटानी जाहेरी नदिएको बताउन थालेपछि प्रहरीले बचतकर्ताको नाम प्रयोग गरेर मुद्दा दर्ता गरेको विषयमा शंकाको बादल मडारिन थालेको छ। रविविरुद्ध मुद्दा दायर हुँदा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख रहेका डीएसपी विजयराज पण्डितको पनि सरुवा भइसकेको छ। यता, रुपन्देही जिल्लाका प्रहरी अधिकारीहरू भने अदालतमा मुद्दा चलिरहेको विषयमा बोल्न नमिल्ने भन्दै पन्छिएका छन्।