काठमाडौं । जलवायु परिवर्तनका असरबारे विश्व समुदायलाई जानकारी गराउने र समाधान खोज्ने उद्देश्यले नेपालले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ आजदेखि सुरु भएको छ।
‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ भन्ने नाराका साथ सुरु भएको यो कार्यक्रम जेठ ४ गतेसम्म सञ्चालन हुनेछ। परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनमा १२ देशका उच्चस्तरीय प्रतिनिधिमण्डलसहित चीन, भारतलगायतका मुलुकका विशिष्ट पाहुना सहभागी छन्।
कुल १७५ जना विदेशी पाहुनासहित करिब त्यत्तिकै संख्यामा नेपाली सहभागी हुने अपेक्षा गरिएको छ। कार्यक्रममा राजनीतिज्ञ, नीति निर्माता, विद्वान, विज्ञ तथा अनुसन्धानकर्ता सहभागी हुनेछन्।
संवादमा जलवायु परिवर्तन तथा पर्वतीय क्षेत्रको चुनौती र समाधानबारे गहन छलफल, विचार आदानप्रदान र विश्लेषण गरिनेछ। नेपालको पहाडी र हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारिरहेको असरलाई अन्तर्राष्ट्रिय बहसको केन्द्रमा ल्याउने लक्ष्य राखिएको छ।