
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी २०८४ को निर्वाचनसम्म नेकपा एमालेसँग पार्टी एकताको सम्भावना नदेखिएको स्पष्ट पारेका छन्।
शुक्रबार डडेलधुरामा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले तत्काल एमालेसँग एकताको कुनै सम्भावना नरहेको बताएका हुन्।
“हामीले विगतमा वाम एकताको प्रयास गर्यौ, प्रस्ताव गर्यौ र एकता पनि भयो,” उनले भने, “तर त्यो विश्वासघातका साथ तोडियो। केवल पार्टी होइन, जनतालाई समेत धोका दिइयो। त्यसैले अब पर्याप्त भयो — ‘इनफ इज इनफ’।”
उनले स्पष्ट रूपमा भने, “२०८४ को निर्वाचनसम्म एमालेसँग एकताको कुनै सम्भावना छैन।” प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले हाल आफू सरकारमा जानका लागि केन्द्रित नरहेको जिकिर गरे। तर, वर्तमान सरकार गलत दिशामा गएको भन्दै उनले सुशासन विघटनको प्रयासप्रति खबरदारी जारी राख्ने बताए।