काठमाडौँ । जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले इमेलमार्फत पठाएको राजीनामा अस्वीकृत गरिएको छ । प्रदेशसभा सचिवालयले औपचारिक प्रक्रियामा त्रुटि देखिएको भन्दै राजीनामा स्वीकार नगरेको हो ।
दुई महिनादेखि बेलायतमा बसोबास गरिरहेकी गुरुङले इमेलमार्फत पठाएको पत्रमा भाषा, हस्ताक्षर र ठेगानाबारे स्पष्टता नहुँदा स्वीकृत गर्न नसकिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।
उनका अनुसार, “मेलबाट आएको पत्रमा आशंका छ, त्यसको बारेमा थप जानकारी माग गरिएको छ । भाषा मिलेको छैन, हस्ताक्षरको प्रमाणिकता छैन, त्यसैले अहिले राजीनामा स्वीकृत गरिएको छैन ।”
यद्यपि, गुरुङका श्रीमान् कैलाश गुरुङले भने राजीनामा स्वेच्छिक र वैध भएको दाबी गरेका छन् । रातोपाटीसँग कुराकानी गर्दै उनले भने, “गीताजीले आफैंले राजीनामा दिनुभएको हो । पत्रमै कारण पनि उल्लेख छ ।”
राजीनामा पत्रमा गुरुङले लेखेकी छन्, “जनताले तिरेको करबाट पारिश्रमिक लिएपनि त्यसअनुसार जिम्मेवारी पूरा गर्न सकिनँ, त्यसैले राजीनामा दिएको हुँ ।”जनमत पार्टीबाट समानुपातिक सांसद बनेकी गुरुङको राजीनामा स्वीकृत गराउन नेताहरूले सभामुख तुलाराम घर्ती मगरमाथि दबाब दिइरहेको बताइएको छ ।