• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

अनुभव बिना शीर्ष पद नताक्न ओलीको सुझाव : मेसी र एम्बाप्पे एक दिनमै बन्दैनन्

काठमाडाैं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले युवा पुस्तालाई अनुभव बटुल्दै नेतृत्वतर्फ अघि बढ्न आग्रह गरेका छन्।

शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले अनुभव नभईकन एकैचोटि उच्च पदको आकांक्षा नराख्न सुझाव दिए।

उनले भने, “२० वर्ष गाडी हाँकिसकेको मान्छेलाई अब पुरानो भयो भनेर हटाउने ट्रेन्ड आएको छ। तर नयाँले त्यो ठाउँ लिन समय लाग्छ। कसैले गाडी हाँक्न सिक्दैछ भने पनि एकैचोटि म हाँक्छु भन्नु गफ मात्रै हुन्छ।”

प्रधानमन्त्री ओलीले राजनीति जस्तै देश सञ्चालन पनि अनुभवको कुरा भएको उल्लेख गर्दै राजनीतिमा पहिचान, धैर्य र सीप महत्त्वपूर्ण हुने बताए।

फुटबल खेलको उदाहरण दिँदै उनले भने, “मेसीलाई हटाएर म मैदानमा पस्छु, खेलेपछि सिकिन्छ भन्ने सोच काम लाग्दैन। मेसी वा एम्बाप्पे एक दिनमै बन्दैनन्। अनुभवले नै उनीहरूलाई महान बनाएको हो।”

ओलीका अनुसार एमालेले देशलाई नयाँ दिशा दिन खोजिरहेको पार्टी हो र त्यसमा अनुभवसहितको सहभागिता अपरिहार्य हुन्छ।