• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

सरिता गिरीको सांसद पदसम्बन्धी मुद्दा अझै निष्कर्षमा पुग्न सकेन

काठमाडौँ। समाजवादी पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा सांसद पद गुमाएकी सरिता गिरीको मुद्दा अझै टुंगोमा पुगेको छैन।

आइतबार ११औँ पटक उनकाे मुद्दा सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासमा पेशी तोकिएको छ।संविधान संशोधनको पक्षमा मतदान गर्न पार्टीले जारी गरेको ह्विप उल्लङ्घन गरेपछि गिरीलाई पार्टीबाट निष्कासन गरिएको थियो।

साधारण सदस्यताको हैसियतसमेत गुमेपछि उनी सांसद पदबाट स्वतः पदमुक्त भएकी थिइन्।पार्टीको निर्णयविरुद्ध गिरीले २०७७ असार २८ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। असार ३० गते न्यायाधीश मनोजकुमार शर्माको इजलासले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि पक्षहरूलाई बोलाएको थियो।

त्यसपछि साउन ११ गते न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा‍. आनन्दमोहन भट्टराईको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै बाँकी विषयको टुंगो मुद्दा निरूपणको क्रममा गरिने आदेश गरेको थियो।तर तीन पटक पेशी स्थगन र पाँच पटक ‘हेर्न नभ्याइने’ भन्दै आजसम्म पनि मुद्दाको अन्तिम सुनुवाइ हुन सकेको छैन। अब आइतबार पुनः सुनुवाइका लागि पेशी तोकिएको छ।