काठमाडौँ। शनिबार लमजुङको वेशीसहरमा नेपाल तरुण दलका कार्यकर्तामाथि खुकुरी प्रहार भएको छ। आक्रमणमा परेर गम्भीर घाइते भएका खुसीजंग गुरुङ र सुदीप अधिकारीको चितवनमा उपचार भइरहेको छ। गुरुङ वेशीसहर नगरपालिका–१ का वडाध्यक्ष समेत हुन्।
जिल्ला अधिवेशन उद्घाटनको क्रममा तरुण दलकै अर्काे समूहले उनीहरूमाथि आक्रमण गरेको बताइएको छ। खुकुरी प्रहारबाट घाइते भएका अन्य तीन जना भने उपचारपछि डिस्चार्ज भइसकेका छन्।
घटनामा संलग्न व्यक्तिहरू अझै पक्राउ परेका छैनन्। लमजुङका डीएसपी रेशम बोहराले रातोपाटीसँग कुरा गर्दै आक्रमणमा संलग्नहरूको पहिचान र खोजी कार्य जारी रहेको जानकारी दिए।
घटनाका बेला गण्डकी प्रदेश सरकारका मन्त्री टकराज गुरुङ र भेषबहादुर पौडेल पनि घटनास्थलमै थिए। उनीहरू दुबै फरक समूहको प्रतिनिधित्व गर्ने नेताहरू हुन्।