काठमाडौँ। प्रतिनिधिसभा बैठकमा विद्युतको पोलमा चढेर काम गर्ने क्रममा करेन्ट लागेर भएको मृत्युको विषय उठेको छ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारिबथानका उपेश नेपालीको शनिबार धुलिखेल नगरपालिका–७, जिल्ला प्रशासन कार्यालयअगाडिको पोलमा चढी काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको घटनालाई सांसदहरूले आकस्मिक समयमा उठाएका हुन्।
काभ्रेका सांसदहरू सूर्यमान दोङ तामाङ, शिव नेपाली र सहराज अहमद फारुकीले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै गहिरो छानबिनको माग गरेका छन्।
उनीहरूले यो घटना केवल दुर्घटना नभई लापरवाही र असुरक्षित कार्यप्रणालीका कारण भएको भन्दै अनुसन्धान गरी दोषीलाई कारबाही गर्न आग्रह गरेका छन्। साथै, मृतकका परिवारलाई न्याय र क्षतिपूर्ति दिनुपर्नेमा पनि जोड दिए।