• २०८३ असार ७
  • 2026 June 21, Sunday

हितेन्द्र शाक्यलाई विष्णु रिमालको सुझाव : कथाकारहरुको युगमा तपाईंको कामभन्दा कथा अघि पुग्न सक्छ !

काठमाडाैं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेपाल विद्युत प्राधिकरणका निर्देशक हितेन्द्र शाक्यलाई सार्वजनिकरूपमा सशक्त सन्देश दिँदै वर्तमान समयको सामाजिक सन्दर्भप्रति सावधानी अपनाउन सुझाव दिएका छन् ।

रिमालले सामाजिक सञ्जालमा देखिएको प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै लेखेका छन्, “बलेको बत्ति मुनि बसेर पोस्ट लेख्दै ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाइँदैछ।” उनका अनुसार, समाजमा बिजुली कसरी आयो भन्ने कुरामाथि गम्भीर सोचविचार बिना नै नायकत्व र देवत्व निर्माणको प्रक्रियामा केही व्यवसायिक समूह सक्रिय छन्, जसले यथार्थभन्दा भ्रमलाई प्राथमिकता दिइरहेका छन्।

उनले स्पष्ट पारे, “समाजलाई कामको प्रतिफल दिने होइन, न्यारेटिभको अँध्यारो छायाँ मुनि राखेर आफ्नो दुनो सोझ्याउने गिरोह सक्रिय छ।”

रिमालले निर्देशक शाक्यको इमान्दार प्रयासको प्रशंसा गर्दै भने, “तपाईं आफ्नो काममा काबिल हुनुहुन्छ, तर सजग रहनुहोस्— कथाकारहरूको युगमा तपाईंको कामभन्दा कथा अघि पुग्न सक्छ।”

सन्देशको अन्त्यमा उनले कर्ममा अडिग रहन आग्रह गर्दै भने, “’कन्टेन्ट’ को दुनियाँले तपाईंलाई ‘कन्टेन्ट’ बनाउने खेलमा लागेको छ भन्ने कुरा नबिर्सिनुहोस्।”

यस सन्देशले नेतृत्वदायी भूमिकामा रहेका अधिकारीहरूलाई बाह्य प्रभाव र न्यारेटिभको दबाबबीच कसरी आफ्नो मूल लक्ष्यमा अडिग रहन सकिन्छ भन्ने विषयमा गम्भीर सन्देश दिन्छ।