काठमाडौँ । प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ। आइतबारको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले दलीय प्रतिनिधित्वका आधारमा आफ्ना धारणा राखे।
बैठकले राष्ट्रियसभाबाट आएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१’ लाई सर्वसम्मतिले पारित गरेको छ। उक्त विधेयकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले दफावार छलफल गरी अनुमोदन गरेको थियो।
त्यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पेश गरेका नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी दुई विधेयक पनि प्रतिनिधिसभाको सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाइएको छ।
यी विधेयकहरू अब अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा छलफल हुनेछन्। सरकारले यी विधेयकहरू आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि समावेश गरिसकेको छ।