• २०८३ साउन ७
  • 2026 July 23, Thursday

तीनकुने घटनामा मानव अधिकार आयोगको अनुसन्धान सकियो, रिपोर्ट छिट्टै सार्वजनिक हुने

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले चैत १५ गते राजधानीको तीनकुनेमा भएको घटनाबारेको अनुसन्धान सम्पन्न भएको जनाएको छ।

आयोगकी अनुसन्धान अधिकृत मञ्जु खतिवडाका अनुसार घटनाको गम्भीरतालाई ध्यानमा राख्दै द्रुत गतिमा अनुसन्धान पूरा गरिएको हो। आयोगले पत्रकार स्व. सुरेश रजकको निधन भएको उक्त घटनालाई ‘फास्ट ट्र्याक’ मा लिएर अनुसन्धान सम्पन्न गरेको जानकारी दिंदै खतिवडाले रिपोर्ट केही दिनभित्र सार्वजनिक गरिने बताइन्।

उनका अनुसार रिपोर्टमा घटनाबारे आयोगले देखेको अवस्था, राज्यका दायित्वहरू, पीडित परिवार र घाइतेलाई के गर्नुपर्छ भन्ने सिफारिससहित समेटिएको छ। उनले भनिन्, “जस्तो प्रकारको गोली प्रहार भयो, कस्तो छर्रा प्रयोग भयो भन्ने पत्ता लगाउन हामीले दुईजना विज्ञ हायर गरेर कमिटी बनाएका थियौं। अनुसन्धान सकिएर अहिले रिपोर्ट प्रिन्टको चरणमा छ।”

घटनामा ज्यान गुमाएका पत्रकार रजककी पत्नी सुजनाले उक्त मृत्यु योजनाबद्ध, षड्यन्त्रपूर्ण वा आपराधिक गतिविधिबाट भएको हुनसक्ने आशंका गर्दै आयोगसँग निष्पक्ष छानबिनको माग गरेकी थिइन्। आयोगले राज्यलाई घटनासम्बन्धी जिम्मेवारी र पीडितलाई न्याय सुनिश्चित गर्नुपर्ने उपायसमेत सिफारिस गर्ने तयारी गरेको छ।