• २०८३ असार ८
  • 2026 June 22, Monday

बागमती प्रदेशसभा बैठक आज बस्दै, विपक्षी दलहरूको संसद् सञ्चालनविरोधी रणनीति

काठमाडौ । बागमती प्रदेश आज बागमती प्रदेशसभाको सोह्रौँ अधिवेशनको पहिलो बैठक बिहान ११ बजे बस्ने भएको छ। प्रदेशसभा सचिवालय हेटौँडाका अनुसार, बैठकको पहिलो दिन विशेष कार्यसूची तय गरिएको छ। यस दिनका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूले शुभकामना मन्तव्य दिने कार्यक्रम तय गरिएको छ।

बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्रीले चलचित्रसम्बन्धी विधेयक प्रस्तुत गर्नेछन्, र संसदीय समितिबाट पारित भएका चार विधेयकका प्रतिवेदन पेस गर्ने कार्यसूची पनि तय गरिएको छ, सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए।

तर, विपक्षी दलहरूले भने संसद् सञ्चालन नहुने चेतावनी दिएका छन्। आइतबार सम्पन्न सर्वदलीय बैठकमा, सत्तापक्ष र प्रतिपक्ष बीच सहमति हुन नसक्दा संसद् सञ्चालनको विषयमा विवाद सिर्जना भएको हो। विपक्षी दलहरूले सरकारले आफ्ना मागको सन्दर्भमा स्पष्ट जवाफ नदिँदासम्म बैठक चल्न नसक्ने बताएका छन्।

मुख्यमन्त्री बहादुर सिं लामाले आह्वान गरेको सर्वदलीय बैठक निष्कर्षविहीन बनेपछि, माओवादी केन्द्र बागमती प्रदेशका प्रमुख सचेतक रत्न प्रसाद ढकालले भने, “सर्वदलीय बैठकमा सरकारको जवाफ असन्तोषजनक भएकोले संसद् चलाउनका लागि उपयुक्त वातावरण छैन।”सर्वदलीय बैठकमा विपक्षी दलहरूले सरकारबाट विगतका सहमतिहरू कार्यान्वयन गर्नका लागि जवाफ माग गरेका थिए, तर यसमा कुनै ठोस समाधान नआएको ढकालको भनाइ छ।

राप्रपा बागमती संसदीय दलका नेता उद्धव थापाले पनि बैठकमा ठोस निर्णय नहुनु, विगतका घटनाबारे सरकारको अस्पष्ट जवाफ, र एकलौटी सरकारको कदमको बारेमा कुरा गरेका थिए।संसद् सञ्चालनको बारेमा मुख्यमन्त्री लामाले विपक्षी दलसँग संवाद जारी राखेका छन्। औपचारिक सहमति जुट्न नसकेपछि, उनले अब छुट्टाछुट्टै दलका नेतासँग छलफल गरिरहेका छन्।