• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

महिलालाई कानुनी आधारबिनै विदेश पठाउन नहुने सांसद खतिवडाको भनाई

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले रोजगारीका लागि महिलाहरूलाई विदेश पठाउने प्रक्रियामा स्पष्ट कानुनी व्यवस्था नगरी अगाडि नबढ्न सरकारलाई आग्रह गरेका छन्।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले श्रम मन्त्रालयका केही सल्लाहकारजस्तो देखिने व्यक्तिहरूले ठुलो आर्थिक लेनदेनसहित महिलाहरूलाई घरेलु कामदारका रूपमा विदेश पठाउने प्रयास गरिरहेको दाबी गरे।

उनले भिजिट भिसाका आधारमा धेरै नेपाली महिला दुबई हुँदै कुवेत र साउदी अरेबिया पुगेको उल्लेख गर्दै, कानुनी मापदण्डबिनै यस्तो कार्य नगर्न र यसप्रति तत्काल ध्यान दिन सरकारलाई आग्रह गरे।

खतिवडाका अनुसार ललितपुरको लुभु क्षेत्रमा चार रोपनी जग्गा लिएर श्रम तालिम दिइएको जानकारी प्राप्त भएको छ। उनले कानुन नबनाई यस्ता कार्य रोक्नुपर्ने भन्दै सभामुखमार्फत सरकारलाई गम्भीर ध्यानाकर्षण गराएका हुन् ।