
सर्लाहीको पर्सा गाउँपालिका–५, हनुमान बजारमा रहेको एक सुन पसलको विवादले अपमानजनक र अमानवीय व्यवहारको चरम उदाहरण देखाएको छ। स्थानीय ५२ वर्षीय तसलिम अन्सारीलाई सुन पसलेले सुँगुरको खोरमा थुनेर कुटपिट गरेका छन्।
घटना जेठ ३ गतेको हो। अन्सारी आफ्नी छोरीको जेठ ८ गते हुने विवाहको तयारीमा व्यस्त थिए। यसै मौकामा त्यहीँका सुन पसल सञ्चालक राजेन्द्र साह सोनारले गहना बिक्रीको नाममा व्यापारिक फाइदा उठाउने प्रयास गरे। उनले अन्सारीको घर पुगेर आफू केटापक्षका सम्धीले पठाएको भन्दै गहना आफ्नै पसलबाट बनाउनुपर्ने दाबी गरे। तर अन्सारीले पहिल्यै आवश्यक गहना बनाइसकेको जवाफ दिए।
त्यसपछि सोनार केटापक्षको घर पुगे र त्यहाँ पनि आफू केटीपक्षको बाबुले पठाएको भनेर त्यही कुरा दोहोर्याए। तर, त्यहाँ पनि गहना तयार भइसकेको जवाफ पाएपछि विवाद चर्किएको प्रहरीको अनुसन्धानमा खुलेको छ।
त्यसपछि केटापक्षका बाबुले अन्सारीलाई फोन गरी सोधपुछ गरेपछि दुबै पक्षले सोनारको चालबाजी थाहा पाए। विवाद झगडामा परिणत भयो।
प्रहरीका अनुसार, त्यसपछि राजेन्द्र साह सोनारले आफ्नो छोरा र अन्य केही व्यक्तिहरूलाई बोलाएर अन्सारीलाई जबर्जस्ती सुँगुरको खोरमा थुनेर कुटपिट गरेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईले दिएको जानकारीअनुसार सो घटनामा राजेन्द्र साह सोनारसहित २७ वर्षीय पप्पु कुमार यादव, २४ वर्षीय राहुल कुमार महतो, २५ वर्षीय कमलेश कुमार साह संलग्न थिए। ती सबैले मिलेर अन्सारीलाई अपमानजनक तरिकाले खोरमा थुनेका थिए।
घटनाको अनुसन्धानका क्रममा शनिबार ५ जनालाई नियन्त्रणमा लिइएको थियो भने आइतबार (जेठ ४ गते) सोही झैझगडामा संलग्न ६५ वर्षीय दिल महम्मद अन्सारीलाई समेत पक्राउ गरिएको छ।
डिएसपी राईका अनुसार, ‘सुन किनबेचको विवादलाई धार्मिक द्वन्द्वमा परिवर्तन गर्दै मुस्लिम समुदायका व्यक्तिमाथि हिन्दु समुदायको नाममा अपमानजनक व्यवहार गरिएको खुलेको छ।’
हालसम्म घटनासँग जोडिएका ६ जनालाई नियन्त्रणमा लिइएको छ। यसमध्ये राजेन्द्र, कमलेश, पप्पु र राहुललाई धर्मसम्बन्धी कसुर, अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ। त्यस्तै, तसलिम अन्सारी र दिल महम्मद अन्सारीविरुद्ध अभद्र व्यवहारसम्बन्धी अभियोगमा अनुसन्धान अघि बढाइएको छ।
घटनाले जातीय तथा धार्मिक आधारमा हुने सामाजिक विभेद र हिंसाको गम्भीर चित्र प्रस्तुत गरेको भन्दै स्थानीय समुदायले निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको माग गरेका छन्।