• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

अपडेट: सांसद सवार गाडीलाई डीएसपीको गाडीले ठक्कर दिएको पुष्टि

विराटनगर । कोशी प्रदेशका चार सांसद सवार गाडीलाई नेपाल प्रहरीका डीएसपी चढेको सवारीले ठक्कर दिएको पुष्टि भएको छ।

सोमबार दिउँसो पूर्वतर्फ जाँदै गरेको बा ५ च ३५२० नम्बरको रातो कारले विराटनगरतर्फ आउँदै गरेको बिएइ १४०६ नम्बरको सांसद सवार गाडीलाई मोरङको कानेपोखरीमा ठक्कर दिएको हो।

ठक्कर दिने गाडी नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) खगेन्द्र खड्काको रहेको पुष्टि भएको छ। कार चालक झापा, दमक नगरपालिका–१ निवासी ४० वर्षीय भेषराज श्रेष्ठ रहेको मोरङ प्रहरीले जनाएको छ। डीएसपी खगेन्द्र खड्का जिल्ला प्रहरी कार्यालय, झापामा कार्यरत छन्।

सांसद सवार गाडीमा नेपाली कांग्रेसकी मैया श्रेष्ठ लावती, नेकपा एमालेका राधाकृष्ण खनाल र नम्बरलाल धिमाल, तथा नेकपा एकीकृत समाजवादी (एस) की विद्या चाम्लिङ सवार थिए।

दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। तर गाडीमा सामान्य क्षति पुगेको छ। सांसद श्रेष्ठका अनुसार, “हामी मेरो गाडीमा विराटनगरतर्फ आउँदै थियौँ, तीव्र गतिमा आएको गाडीले एक्कासि ठक्कर दियो। हामी सबै सकुशल छौँ, तर गाडीमा क्षति पुगेको छ।”

सांसदहरू कोशी प्रदेशसभाको सोमबारको बैठकमा सहभागी हुन विराटनगर आउँदै थिए। बैठकमा सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका थियो।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।