खानेपानी मन्त्री प्रदीप यादवले सोमबार मेलम्चीको शुद्ध खानेपानी सिंहदरबारमा वितरण सुरु गरेका छन्। सिंहदरबार परिसरमा आयोजित विशेष समारोहमा मन्त्री यादवले आफैं मेलम्चीको पानी पिएर यसको औपचारिक शुभारम्भ गरे।
उनले अब सिंहदरबार क्षेत्रमा बोतल र जारको पानीको सट्टा मेलम्चीको सुरक्षित, स्वच्छ र भरपर्दो पानी प्रयोग हुने जानकारी दिए। मन्त्री यादवका अनुसार यो अभियानले सिंहदरबारका सबै मन्त्रालय र कार्यालयमा मेलम्चीको पानी पुर्याउनेछ।
“यो केवल सुरुवात मात्र होइन, सुशासन, पारदर्शिता र जनसेवाप्रतिको हाम्रो प्रतिबद्धताको स्पष्ट उदाहरण हो,” उनले भने। मन्त्री यादवले यो कार्य प्रशासनिक क्षेत्रमा पारदर्शी, दिगो र किफायती खानेपानी प्रणालीको अभ्यासका रूपमा स्थापना हुने विश्वास व्यक्त गरे।
उक्त शुभारम्भ कार्यक्रममा खानेपानी मन्त्रालयकी सचिव प्रमिला देवी शाक्य बज्राचार्य, केयुकेएलका प्रतिनिधिहरू, विभागीय प्रमुख र अन्य कर्मचारीहरूको पनि उपस्थिति थियो।