• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

प्रधानमन्त्री पत्नी शाक्य भन्छिन् –राजनीतिमा आउने कुनै लक्ष्य छैन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले आफू राजनीतिमा आउने कुनै योजना नभएको स्पष्ट पारेकी छन्।

सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा आफ्नै कृति ‘करुणा’ बारे बोल्दै लेखिका शाक्यले आफूले राजनीति गर्ने सोच नरहेको बताइन्। उनले पुस्तकमा आफ्नो अनुभूति र विचारहरू अभिव्यक्त गरेको उल्लेख गरिन्।

“अब केपी ओलीले श्रीमतीलाई अगाडि सार्न लागे कि भनेर प्रश्न उठेको सुनेकी छु,” उनले भनिन्, “तर ओलीजीले मलाई राजनीतिमा जान भनिएको छैन, न त मैले राजनीति गर्ने निर्णय लिएको छु।”

शाक्यले आफू सामान्य नेपाली भएकी र पुस्तकमार्फत आफ्ना विचारहरू सार्वजनिक गर्ने अधिकार प्रयोग मात्र गरेको बताइन्। “म इमानदार नेपालीको छोरी हुँ। जे कुरा मैले बुझेकी छु, जे मनमा लागेको छ, ती कुरा लेखेकी हुँ,” उनले भनिन्।

राजनीतिमा आउँछु कि भनेर चिन्ता नगर्न पनि उनले सबैलाई अनुरोध गरिन्। “त्यसो भएकाले म राजनीतिमा आउँला कि भनेर धेरै सोच्न आवश्यक छैन,” शाक्यले थपिन्।