• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

बालेन शाह कार्यक्रममा नआएपछि प्रधानमन्त्री ओलीलाई पर्यो चासो

प्रधानमन्त्री केपी ओलीले सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा बालेन शाह अनुपस्थित रहेकोप्रति चासो व्यक्त गरेका छन्।
साथै अबदेखि यस्ता कार्यक्रममा जनप्रतिनिधिको उपस्थिति अनिवार्य गर्न निर्देशन दिएका छन्।

बैठकमा मेयर शाह अनुपस्थित रहँदा उपमेयर सुनिता डंगोलले प्रतिनिधित्व गरेकी थिइन्। यस्ता महत्वपूर्ण राष्ट्रिय बैठकमा काठमाडौंकै निर्वाचित प्रमुख जनप्रतिनिधि उपस्थित नभएको विषयमा प्रधानमन्त्री ओलीले अप्रत्यक्ष रूपमा असन्तुष्टि जनाउँदै भविष्यमा यस्ता बैठकहरूमा अनिवार्य उपस्थिति हुनुपर्ने बताएका छन्। उनले भने, “महत्वपूर्ण समारोहको तयारीमा जनप्रतिनिधिको उपस्थिति आवश्यक हुन्छ, तर यहाँ उपस्थिति देखिँदैन। आगामी दिनमा यस्ता बैठकमा उपस्थिति सुनिश्चित गर्नुपर्छ।”

उक्त बैठकमा गणतन्त्र दिवस मनाउने तयारीसँग सम्बन्धित गृह मन्त्रालयको प्रस्ताव पारित गरिएको थियो। जसअनुसार जेठ १५ गते मनाइने गणतन्त्र दिवसलाई केन्द्र, प्रदेश र स्थानीय तहमा तीन दिनसम्म दीप प्रज्वलनसहित व्यापक रूपमा मनाइने निर्णय गरिएको छ ।
यसका लागि सम्बन्धित सरकारी, गैरसरकारी तथा निजी संस्थाहरूको समावेशमा तहगत समिति र उपसमितिहरू गठन गरिने बताइएको छ।

यस्तै, विदेशस्थित नेपाली दूतावासहरू, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासहरूमा समेत कार्यक्रम आयोजना गरिनेछ। जेठ १५ गते हुने मुख्य कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको आयोजना हुने भएको छ ।

प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई भव्य र जनस्तरमा सहभागिता हुने गरी मनाउन सबै पक्षलाई आह्वान गर्दै यसलाई केवल औपचारिकतामा सीमित नराख्न आग्रह गरेका छन् ।