• २०८३ असार ८
  • 2026 June 22, Monday

६८ वर्ष नाघेका ज्येष्ठ नागरिकले आगामी वर्षदेखि सामाजिक सुरक्षा भत्ता पाउने

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिने जानकारी दिएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा मौखिक प्रश्नोत्तरमा सहभागी हुँदै मन्त्री सुडीले आर्थिक वर्ष २०८२/८३ बाट सामाजिक सुरक्षा भत्ताको दायरा फराकिलो पार्दै ६८ वर्षमाथिकालाई समेट्ने तयारी भइरहेको बताए। हाल भने आर्थिक वर्ष २०७९/८० को बजेट अनुसार ७० वर्ष पुगेका नागरिकलाई मात्र भत्ता उपलब्ध गराइँदै आएको छ।

सांसद प्रेम सुवालको प्रश्नको जवाफ दिँदै मन्त्री सुडीले गैरसरकारी संस्थामार्फत प्राप्त हुने सहयोगलाई समाज कल्याण परिषद्मार्फत एकद्वार प्रणालीमार्फत परिचालन गर्ने नीतिलाई प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गरे। नेपाल राष्ट्र बैंकलाई परिषद्को स्वीकृति प्राप्त गरेका परियोजनाहरूको मात्र रकम परिचालन गर्न सहजीकरण गर्न अनुरोध गरिएको पनि उनले बताए।

मन्त्रीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १,३०४ राष्ट्रिय गैरसरकारी संस्थाबाट २,०८४ परियोजना सञ्चालनमा थिए। चालु आर्थिक वर्षको चैत मसान्तसम्म १,३२४ संस्थाका १,८३३ परियोजना स्वीकृत भइसकेका छन्। यस्तै, गत आवमा ४४ अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको परियोजना सम्झौता भएकोमा चालु आवको वैशाखसम्म २० संस्थासँग सम्झौता भएको छ।

बैठकमा उनले सप्तरीको शम्भूनाथ नगरपालिका–३ कचन्दाहाका मागैन सदा, चन्दरसदालगायत दलित परिवार नागरिकता नहुँदा ७२ वर्षको उमेरमा पनि भत्ता लगायतका सुविधा नपाएको तथ्य संसदमा प्रस्तुत गरे। “नागरिकता नहुनु सामाजिक सुरक्षा भत्ता नपाउनुको मुख्य कारण हो,” मन्त्री सुडीले स्पष्ट पारे।