• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

किन अनुपस्थित रह्यो माओवादी केन्द्र कर्णाली प्रदेशसभा बैठकमा ?

सुर्खेत । कर्णाली प्रदेशसभाको सोमबारको बैठक प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र अनुपस्थित भएपछि अवरुद्ध भएको छ।

सभामुख नन्दा गुरुङले बैठक प्रारम्भ गरे पनि सत्ता साझेदार नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले प्रतिपक्षको अनुपस्थितिमा संसद् सञ्चालन नगर्न आग्रह गरे। “हिजो कार्यव्यवस्था समितिमा बैठक बस्ने सहमति भएको हो, तर प्रतिपक्ष उपस्थित छैन,” विष्टले भने, “प्रचण्डको अभियानमा जाने भनिएको थियो, तर बैठक नराख्ने भनिएको थिएन।”

प्रतिपक्षको सहभागिता संसदको मूल मान्यता भएको भन्दै उनले संसद् अगाडि नबढाउन आग्रह गरे। त्यसपछि सभामुख गुरुङले बैठक जेठ १८ गतेसम्मका लागि स्थगित भएको घोषणा गरिन्।

यसबीच माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले आफूहरू जानाजानी बैठक बहिष्कार गरेको स्पष्ट पारे। “आइतबारको कार्यव्यवस्था समितिमा हामीले ७/८ गतेपछि मात्रै बैठक राख्न सुझाव दिएका थियौं,” उनले भने, “एजेण्डा नभएको अवस्थामा सत्तापक्षले जबर्जस्ती बैठक बोलायो, त्यसैले हामी उपस्थित भएनौं।”

उनले बैठक अवरुद्ध गरेर भत्ता लिनु भन्दा असहमति भएको दिनको भत्ता समेत नलिने निर्णयसहित बहिष्कार गरिएको बताए। “हामीले हिजो नै जानकारी गराइसकेका थियौं, यो विना जानकारी बहिष्कार होइन,” जिसीले थप स्पष्ट पारे।

सत्तारूढ दलका केही नेताहरूले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभियानका कारण सांसदहरू कर्णाली पुगेकाले बैठक बहिष्कार गरिएको जस्तो देखिए पनि जिसीले त्यो दाबी खारेज गरे। “दल नेता राजकुमार शर्मा र मबाहेक सबै सांसद अहिले वीरेन्द्रनगरमै छन्,” उनले बताए।