काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ गतेदेखि सुरु हुने आफ्नो पार्टीको आन्दोलन शान्तिपूर्ण हुने स्पष्ट पारेका छन्।
मंगलबार काठमाडौँमा आयोजित आन्दोलन तयारी सभामा बोल्दै लिङ्देनले आन्दोलन पूर्ण रुपमा नियन्त्रणमा रहने र कुनै किसिमको हिंसात्मक गतिविधि नहुने बताएका हुन्। उनले सरकारलाई पनि दमन गर्ने वा हिंसा भड्काउने अवसर नदिने बताएका छन्।
अध्यक्ष लिङ्देनले मानवअधिकार आयोगलगायतका अन्तर्राष्ट्रिय संघसंस्थाहरुलाई आन्दोलनको अनुगमन गर्न औपचारिक आग्रह गरिने जानकारी दिएका छन्। उनले भद्र अवज्ञा र सत्याग्रहमार्फत् आफ्ना मान्यता स्थापित गरिने उल्लेख गर्दै, यसपटकको आन्दोलनलाई निष्कर्षमा पुर्याइने दाबी गरे।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा दिएको ‘हामी त बुढा भयौँ, तपाईं चाहिँ भाग्न मिल्छ’ भन्ने अभिव्यक्तिको प्रतिक्रिया दिँदै लिङ्देनले भने, “जो भाग्न सक्दैनन्, उनीहरूलाई भाग्न हेलिकप्टरको व्यवस्था गरिदिन्छौँ।”
त्यसैगरी, राप्रपा नेपालका अध्यक्ष कमल थापाले आन्दोलनका सन्देश जनताको घरघरमा पुर्याइने बताए। अबको आन्दोलनको अग्रपंक्तिमा केन्द्रीय नेताहरू रहने भएकाले जोखिम भए पनि उनीहरू अग्रसर हुने उनले बताए। “अबको आन्दोलन शान्तिपूर्ण हुने छ, निडर भएर सहभागी हुन जनतालाई आह्वान गर्छु,” थापाले भने। उनले जनताको व्यापक सहभागितामार्फत् भ्रष्ट शासकलाई पराजित गरी पार्टीका एजेन्डा स्थापित गरिने विश्वास व्यक्त गरे।