काठमाडौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गतको टोलीले रुकुमको चौरजहारीमा जनयुद्धपीडितहरूसँग अन्तरक्रिया गरेको छ।
मंगलबार चौरजहारी नगर समितिको कार्यालयमा आयोजित कार्यक्रममा जनयुद्धका घाइते, अपाङ्ग, सहिद परिवार र बेपत्ता व्यक्तिका आफन्तहरूले आफ्ना समस्या तथा राज्यबाट पाउनुपर्ने अधिकारबारे धारणा राखे। उनीहरूले घाइते तथा अपाङ्गको उपचार, बेपत्ता व्यक्तिको औपचारिक मान्यता, सहिद परिवारका सन्तानको शिक्षादेखि रोजगारीसम्मको सुनिश्चितता माग गरे।
अध्यक्ष प्रचण्डले कार्यक्रममा जनताको पीडा बुझ्ने, संवाद गर्ने र पार्टीभित्रको आत्मसमीक्षा गर्दै नयाँ शैलीमा जनतामाझ पुग्ने उद्देश्यसहित अभियान सुरु गरिएको बताए। उनले सहिद घोषणा प्रक्रियामा केन्द्रबाट तथ्याङ्क मागिएको भए पनि विवरण संकलनमा त्रुटि हुँदा सबैलाई समेट्न नसकेको स्पष्ट पारे।
प्रचण्डले सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकमा भएको ढिलाइप्रति दुःख व्यक्त गर्दै हाल गठन भएको आयोगले कार्यविधिअनुसार काम अघि बढाउने विश्वास व्यक्त गरे। उनले बेपत्ता व्यक्तिहरूलाई सहिदसरह मान्यता दिई सम्मानसाथ क्षतिपूर्ति दिनुपर्ने धारणा पनि राखे।
“हामी क्रान्ति पूरा गरेर हैन, सम्झौताबाट यो स्थितिमा आएका हौं,” उनले भने, “अहिलेको गणतन्त्रलाई समाजवादी गणतन्त्रमा रूपान्तरण गर्न सबैको साथ र योगदान आवश्यक छ। म समाजवादी क्रान्तिको यात्रामा देखिएको कमजोरी सुधार्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्छु।”
अभियान टोलीले देशभर पुगेर जनयुद्धका पीडितहरूसँग प्रत्यक्ष संवाद गर्ने, पार्टीको कमजोरी समीक्षा गर्ने र जनतासँगको सम्बन्ध पुनः सुदृढ गर्ने लक्ष्य राखेको जनाएको छ।